Rule 74
रोजगारी अन्त्य भएपछि पाउने रकमको भुक्तानी गर्ने तरिका
(१) ऐन र यस नियमावली बमोजिम रोजगारी अन्त्य भएको श्रमिकले पाउने पारिश्रमिक, सञ्चित बिदा वा अन्य कुनै सुविधा बापतको रकम बुझिलिन श्रमिक आफैँ उपस्थित हुन नसक्ने भएमा वा नआएमा त्यस्तो रकम निजले प्रतिष्ठानलार्इ उपलब्ध गराएको बैंक वा वित्तीय संस्थाको खातामा जम्मा गर्नु पर्नेछ।
(२) कुनै श्रमिकको बैंक वा वित्तीय संस्थामा खाता नभएमा रोजगारदाताले त्यस्तो श्रमिकले मञ्जुरी दिएको निजको परिवारको अन्य कुनै सदस्यको बैंक खातामा त्यस्तो रकम जम्मा गरिदिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै श्रमिकले ऐन र यस नियमावली बमोजिम पाउने पारिश्रमिक, सञ्चित बिदा वा अन्य कुनै सुविधा बापतको रकम लिन नपाउँदै निजको मृत्यु भएमा रोजगारदाताले त्यस्तो रकम निजको परिवारको देहायको क्रममा रहेको सदस्यलार्इ भुक्तानी दिनु पर्नेछः–
(क)  श्रमिकले कसैलाई इच्छाएको रहेछ भने इच्छाएको व्यक्तिलाई,
(ख)    खण्ड (क) बमोजिम इच्छाएको व्यक्ति नभएमा वा इच्छाएको व्यक्तिको मृत्यु भैसकेको अवस्थामा देहायको क्रम अनुसारको परिवारको सदस्यलाई:-
(१)    सगोलमा बस्ने श्रीमान वा श्रीमती,
(२)    सगोलमा बस्ने छोरा, बुहारी वा अविवाहिता छोरी,
(३)    सगोल बस्ने नाति नातिनी वा एकाघरका बाबु, आमा वा सासु, ससुरा,
(४)    भिन्न बस्ने श्रीमान वा श्रीमती, छोरा,  बुहारी वा विवाहिता छोरी।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै श्रमिकले ऐन तथा यस नियमावली बमोजिम पाउने पारिश्रमिक वा सुविधा निजले प्रतिष्ठानलार्इ उपलब्ध गराएको बैंक खातामा जम्मा हुन नसकेमा वा रोजगारी छोडेको तीन वर्षभित्र उपनियम (२) बमोजिम सम्बन्धित श्रमिक वा उपनियम (३) बमोजिम निजको हकवालाले त्यस्तो रकम दाबी गर्न नआएमा रोजगारदाताले त्यस्तो रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम कुनै श्रमिकको पारिश्रमिक वा सेवा सुविधा सामाजिक सुरक्षा कोषमा जम्मा भइसकेपछि त्यस्तो श्रमिक वा निजको हकवालाले त्यसरी जम्मा भएको रकमको हदभन्दा बढी दाबी लिन पाउने छैन।